बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गराउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने घोषणा गरेका छन्।
बुटवलस्थित जितगढी उत्सवको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले वीरता, त्याग र स्वाभिमानको प्रतीक जितगढीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनका लागि आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
“इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न जरुरी छ,” मुख्यमन्त्री आचार्यले भने, “नयाँ पुस्तालाई वीर सपुतहरूको योगदानबारे जानकारी गराउनु हाम्रो जिम्मेवारी हो।”
उनले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुत घोषणा गर्न संघीय सरकारसँग पहल गरिने जानकारीसमेत दिए।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय कलाकारहरूले देशभक्ति गीत, नृत्य र प्रस्तुति मार्फत ऐतिहासिक विजयको सम्झना गराए।
वि.सं. १८७२ साल वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अंग्रेज सेनामाथि विजय हासिल गरेको थियो। त्यस दिनको स्मरणमा बुटवल उपमहानगरपालिकाको आयोजनामा प्रत्येक वर्ष जितगढी उत्सव मनाइन्छ।
मुख्यमन्त्री आचार्यले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने सरकारको योजना दृढताका साथ कार्यान्वयन गरिने समेत बताएका छन्।