तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा फ्री बिइङ मी तथा एक्शन अन बडी कन्फिडेन्स कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य तथा कल्याण कार्यक्रम अन्तर्गत स्वतन्त्र अभिव्यक्ति (फ्री बिइङ मी) तथा शारीरिक आत्मविश्वासका लागि कदम (एक्शन अन बडी कन्फिडेन्स) सम्बन्धी उक्त कार्यक्रम भएको हो ।
नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउट युवा परिषद्को आयोजनामा र युवा परिषद् अध्यक्ष शुशील मरासिनीको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा ज्ञानगंगा पाठशालाका कक्षा ८, ९ र १० का विद्यार्थीहरू तथा स्काउट ट्रुपका स्काउटरहरु गरि करिब १४४ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्काउटर नानू माया खाम्छा, सन्ध्या परियार र प्रतीक्षा सुनारले प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीहरूले आत्मविश्वासको विकास, शरीरप्रतिको सकारात्मक सोच तथा सौन्दर्यको वास्तविक अर्थबारे गहन छलफलमा सहभागी भएका थिए।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने, प्रधानाध्यापक चन्द्र अधिकारी र सह–प्रधानाध्यापक केशवराज पन्तको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन स्काउट मास्टर राजेश रोकाले गर्नु भएको थियो।
कार्यक्रमले सामाजिक सन्देशहरूबाट स्वतन्त्र भई आत्मगौरव र आत्म–स्वीकृतिको भावना विकास गर्ने शिक्षा प्रदान गरेको सहभागी विद्यार्थीहरूले बताएका थिए।




