देवदह । रुपन्देहीको देवदह–५ स्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले आइतबार कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विद्यार्थीहरु भोलिको देशका नेतृत्वकर्ता भएकाले सानै उमेरदेखि सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनले सकारात्मक सोचको विकासका लागि गरिएको अभिमुखीकरणले मानव जीवनलाई बदल्न सक्ने उल्लेख गर्दै, मानव सेवा आश्रमले हजारौंलाई आश्रय दिएर समाजमा गरेको योगदान सराहनीय भएको बताए।
कार्यक्रम विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको अध्यक्षता, सहायक प्रिन्सिपल वेद सूर्यवंशीको स्वागत मन्तव्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा भएको थियो। कार्यक्रममा लेखा समिति संयोजक विनोद पराजुली, मानव सेवा आश्रम लुम्बिनी प्रदेशका संयोजक सरु अधिकारी, अभियान्ता करुणा, कक्षा ११–१२ का संयोजक अनन्तराम भण्डारी, मावि इन्चार्ज मुक्ति विश्वकर्मा लगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जीवन, जगत र सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिएका थिए। साथै, उनले जन्मदिने आमा–बुबा र जीवनको बाटो देखाउने अभिभावकको भूमिकाबारे डकुमेन्ट्री प्रस्तुत गर्दै शिक्षा, मानवता र बुबा–आमाको महत्वबारे विद्यार्थीलाई प्रष्ट्याएका थिए।
चार सयभन्दा बढी विद्यार्थी सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुले जीवन उपयोगी सन्देश पाएको बताएका थिए।




