देवदह // देवदह नगरपालिका वडा नं ७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय मा.विले राष्ट्रिय सेवा दलको तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार एक कार्यक्रमका बिच विद्यालयको सभाहलमा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै तारा दल गड बुटबलका सेनानी अनिशा केसीले राष्ट्रिय एकताको भावना विद्यार्थीहरुमा जागृत गर्न र नेतृत्व विकास गराउन यो तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाले विद्यार्थीहरुलाई विपद् व्यवस्थापनको ज्ञान समेतका लागि यो तालिम उपयोगी हुने बताउनुभयो । तालिममा मार्च, पिटी, खुकुरी ड्रिल, विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका विषयलाई प्राथमिकता दिइने उहाले बताउनुभयो । तालीमको क्रममा १०० दिनमध्ये विद्यालयमै ७९ दिन र २१ दिन सामुहिक रुपमा आर्मी व्यारेकमा लैजानेले केशीले बताउनुभयो।
सोहि अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं.–७ वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले एनसिसि क्याडरले समाज सुधारमा अग्रसर भई विकृति–विसङ्गति हटाउन योगदान दिनुपर्ने बताए। उनले सिकेको ज्ञान साथीहरूमा पनि बाँड्न र पुस्तकसँगै समाज पढाउनुपर्नेमा जोड दिँदै, त्यसले सभ्य समाज निर्माणमा टेवा पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रम विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्लेको अध्यक्षता, प्राचार्य राजिव सापकोटाको स्वागत र शिक्षक अशोक पाण्डेयको सञ्चालन सम्पन्न भएको थियो ।
नेपालमा २०२२ सालमा स्थापना भइ २०२४ सालबाट सुरु भएको एनसिसिमा सात हजार ७०४ जना भन्दा बढी बार्षिक रुपमा दिक्षित हुने गरेका छन् । ७७ वटै जिल्लामा लागू भएको एनसिसि कार्यक्रम सिनियर डिभिजन र जुनियर डिभिजन गरी २ क्याटागोरीमा सञ्चालन हुन्छ ।एनसिसिमा सिनियर डिभिजन अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत छात्रछात्रा रहनेछन् भने जुनियर डिभिजन अन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी समावेश रहन्छन् । ‘राष्ट्रिय सेवा दल तालीम’ नाम दिइएको सो प्रशिक्षणमा ३० जना विद्यार्थी सहभागी रहनेछन्। राष्ट्रिय सेवा दल एक स्वयंसेवक दस्ताको रूपमा परिचित छ।




