देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा बाल दिवसको अवसर पारेर नेपाली र अंग्रेजी विषयको श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त कार्यक्रम बाल क्लबको आयोजना तथा बालक्लब अध्यक्ष स्पर्श भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले श्रुतिलेखन प्रतियोगिताले भाषाका चार सिप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) मध्ये विशेषगरी सुनाइ सिपको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए । साथै, बाल क्लबले ल्याउने यस्ता रचनात्मक कार्यक्रमलाई विद्यालयले सधैं प्रोत्साहन गर्ने उनको भनाइ थियो ।
कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख दुण्डिराज मरासिनी र बाल क्लब इन्चार्ज बलराम ज्ञवालीले गरेका थिए । प्रतियोगिता कक्षा ४, ५, ६ का लागि नेपाली र कक्षा ७, ८ र ९ का लागि अंग्रेजी गरी दुई तहमा सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयका स. प्रिन्सिपल वेद सूर्यवंशी, स. प्रिन्सिपल रोशी गुरुङ, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, प्रा.वि. इन्चार्ज अञ्जना वलीसहित शिक्षकहरूको उपस्थिति थियो ।
कार्यक्रममा उपाध्यक्ष सुजल पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव भावना रानाले सञ्चालन गरेकी थिइन् । प्रतियोगिताको नतिजा सार्वजनिक भइसकेपछि विजयी विद्यार्थीलाई सोमबार बिहानको प्रार्थना सभामा पुरस्कार वितरण गरिने बाल क्लब इन्चार्ज ज्ञवालीले जानकारी दिए ।




