देवदह — देवदहको खैरेनीमा करिब तीन करोड रुपैयाँको लगानीमा स्थापना गरिएको साधना पोलिक्लिनिक औपचारिक रूपमा सञ्चालनमा आएको छ। पुरानो श्रीकृष्ण पोलिक्लिनिक रहेको स्थानमै नयाँ नाम र व्यवस्थापनसहित सुरु गरिएको यस स्वास्थ्य केन्द्रले स्थानीय तहमै चौबिसै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
पोलिक्लिनिकको उद्घाटन विशेष शैलीमा गरिएको थियो। औपचारिक रिबन काट्ने कार्यक्रमका सट्टा, पोलिक्लिनिकको पहिलो स्वास्थ्य सेवा ८६ वर्षीय ज्येष्ठ नागरिक जयलाल भण्डारीको स्वास्थ्य परीक्षण (चेकअप) गर्दै प्रारम्भ गरिएको हो। यसरी परम्परागत उद्घाटन शैली तोड्दै ‘सेवा नै शुभारम्भ’ भन्ने सन्देश दिइएको पोलिक्लिनिकका मेडिकल डाइरेक्टर डा. विष्णु ढकालले बताए। उनका अनुसार यो कार्यले स्वास्थ्य सेवा सुरु गर्नुको वास्तविक अर्थलाई व्यवहारमा उतारेको छ।
पोलिक्लिनिकमा हाल नौ जना स्वास्थ्यकर्मीले सेवा सुरु गरेका छन् भने करिब ४५ जनाले रोजगारी पाएका छन्, जसमा ३० जना पूर्णकालीन कर्मचारी रहेका छन्। डा. ढकालका अनुसार पोलिक्लिनिकको मुख्य उद्देश्य देवदह र आसपासका बासिन्दाले अब उपचारका लागि बुटवल वा भैरहवा धाउन नपरोस् भन्ने हो। उनले भने, “हामीले हरेक बिरामीलाई आफ्नै गाउँमा विशेषज्ञ उपचार पाओस् भन्ने उद्देश्य राखेका छौं।” पोलिक्लिनिकमा २४ घण्टा इमर्जेन्सी, फार्मेसी, प्याथोलोजी, एक्स–रे सेवा सञ्चालनमा छन्।
पोलिक्लिनिकमा हाडजोर्नी, नशा रोग, नाक–कान–घाँटी, महिला तथा प्रसूति, बाल, दन्त, फिजियोथेरापीलगायतका विशेषज्ञ सेवा उपलब्ध छन्। यहाँ दैनिक ओपीडी, इ.सी.जी., भिडियो एक्स–रे, ल्याब, प्लास्टर र २४ घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा छन्।
पोलिक्लिनिककै भवनमा सञ्चालनमा आएको ओमशान्ति डेन्टल केयरले आधुनिक प्रविधियुक्त दन्त उपचार सेवा प्रदान गर्छ। डा. सन्दिप पौडेल र डा. बबिता घिमिरेको नेतृत्वमा सञ्चालन भएको यस केन्द्रमा एक्स–रे, आरभीजी, ओपीजी, फिलिङ, नकली दाँत फिटिङ, गिजा उपचार र सौन्दर्य सेवा उपलब्ध छन्।
त्यस्तै, आर्या अर्थो न्युरो फिजियोथेरापीमार्फत हाडजोर्नी, नसा र मांसपेशी सम्बन्धी समस्या समाधानका लागि फिजियोथेरापी सेवा सुरु गरिएको छ।
डा. विष्णु ढकालका अनुसार, साधना पोलिक्लिनिकले उपचारसँगै स्वास्थ्य सचेतना अभियान पनि सञ्चालन गर्दैछ। विद्यालय र समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर र परामर्श कार्यक्रम मार्फत जनचेतना फैलाउने योजना रहेको उनले बताए।




