देवदह — देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार शुक्रबार विविध अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्। विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित कार्यक्रममा प्रि–प्राइमरी, पूर्व–प्रा.वि (कक्षा १–३), प्रा.वि (कक्षा ४–५), नि.मा.वि, मा.वि र उच्च मा.वि (+२) तहका विद्यार्थीबीच फरक–फरक प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।
प्रि–प्राइमरी तहमा गणित दौड प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच दौड प्रतियोगिता, र कक्षा ४ तथा ५ का विद्यार्थीबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो। त्यस्तै, बुद्ध पब्लिक बालक्लबको आयोजनामा कक्षा ६ देखि १० सम्म फुटबल प्रतियोगिता, र +२ तहमा कक्षागत फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, +२ इन्चार्ज अनन्तराम भण्डारी, खेल संयोजक बलराम ज्ञवाली, प्रा.वि इन्चार्ज अञ्जना वली र आस्मिता गुरुङ लगायत शिक्षक–शिक्षिका उपस्थित थिए। प्राकृतिक वातावरणमा साथीहरूसँग खेल्न पाउँदा विद्यार्थीहरू अत्यन्त उत्साहित देखिन्थे। सहभागी विद्यार्थीहरूले यस्ता गतिविधिले समूहमा काम गर्ने सीप र सिर्जनात्मक क्षमता वृद्धि हुने प्रतिक्रिया दिएका छन्।
प्रतियोगिताको नतिजा अनुसार, +२ तहमा कक्षा ११ गामा प्रथम, ११ बिटा द्वितीय र ११ डेल्टा तृतीय बने। बालक्लबद्वारा आयोजित हाजिरी जवाफमा कक्षा ४ बिटाका समृद्धि न्यौपाने, अनुष्का पौडेल र पिप्लोन पुरी प्रथम, कक्षा ५ गामाका सार्थक भण्डारी, सिद्धार्थ अधिकारी र रिहाना लामा द्वितीय तथा कक्षा ४ अल्फाका निराजन न्यौपाने, सिद्धान्त अग्रहरी र सृसा जोशी तृतीय बने।
अतिरिक्त क्रियाकलाप प्रमुख मरासिनीका अनुसार, सम्पूर्ण प्रतियोगिताको नतिजा औपचारिक रूपमा आइतबारको बिहान हुने प्रार्थना सभामा सार्वजनिक गरिने र विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिनेछ।




