देवदह — देवदहमा सम्पन्न ‘डान्स अफ देवदह’ प्रतियोगिताको विजेता टिना फौजाली मगर बनेकी छन् । फाइनल राउन्डमा १० जना प्रतिस्पर्धीबीच भएको प्रतिस्पर्धामा परिशा शाही प्रथम रनरअप, जेनिक्षा घर्ती मगर दोस्रो रनरअप र सलुना थापा तेस्रो रनरअप घोषित भएका छन् ।
‘द फ्लाई हाई डान्स स्टुडियो देवदह’को आयोजनामा भएको प्रतियोगितामा विजेता टिना फौजाली मगरले नगद ५० हजार रुपैयाँ, प्रथम रनरअप परिशा शाहीले २० हजार रुपैयाँ, दोस्रो रनरअप जेनिशा घर्ती मगरले १० हजार रुपैयाँ, र तेस्रो रनरअप सलुना थापाले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।
कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख विद्या लक्ष्मी गुरुङ प्रमुख अतिथि रहनु भएको थियो । उप–प्रमुख गुरुङले बालबालिकाले नृत्य, संगीत र कला जस्ता अतिरिक्त क्रियाकलापमार्फत आफ्नो प्रतिभा विकास गर्न सक्ने बताउँदै यस्तो कार्यक्रमले देवदह नगरलाई सांस्कृतिक रूपमा समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताको फाइनल राउन्डमा आरध्या पौडेल, एडिना क्षेत्री, टिना फौजाली मगर, सलुना थापा, जिया बानिया, अकेशा थापा, यूनिका पुन, परिशा शाही, नुराग सारु र जेनिक्षा घर्ती गरी १० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।




