देवदह – नेवा: देय् दबु देवदहको तेस्रो साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट बलबहादुर श्रेष्ठ (अशिम) सर्वसम्मत रूपमा नगर अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्ष बलबहादुर श्रेष्ठ (अशिम), वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, महिला उपाध्यक्ष भिमकुमारी श्रेष्ठ, पुरुष उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ, महिला सचिव रुपा श्रेष्ठ, कोषाध्यक्ष अम्बिका श्रेष्ठ रहेका छन्। त्यसैगरी सदस्यहरूमा युवराज श्रेष्ठ, कुशलराज श्रेष्ठ, खिम नारायण श्रेष्ठ, पार्वती श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, प्रीति श्रेष्ठ, बसन्ती श्रेष्ठ, दानबहादुर श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि महेश श्रेष्ठले विश्वभर रहेका नेवाः समुदायबीच एकता आवश्यक रहेको बताउँदै भव्य र सभ्य कार्यक्रम देखेर खुशी लागेको अभिव्यक्ति दिए। उनले भाषा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई सचेत रहन आग्रह गरे।
त्यस्तै नवनिर्वाचित अध्यक्ष बलबहादुर श्रेष्ठ (अशिम) ले निवर्तमान समिति र ज्येष्ठ नागरिकप्रति आभार प्रकट गर्दै नेवाः समुदायले देशहितका लागि सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए। उनले नेवारी सभ्यता, भेषभूषा, भाषा र संस्कृतिलाई राज्यका विभिन्न तहबाट अवमूल्यन गर्न खोजिएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै सचेत रहनुपर्नेमा जोड दिए।
कार्यक्रमको निवर्तमान अध्यक्ष कुशलराज श्रेष्ठको अध्यक्षता र सचिव राजकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।




