देवदह नगरपालिका–६, केउलीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ देवदहको आयोजनामा संस्थाका प्रथम उपाध्यक्ष लायन गणेश क्षेत्रीको अध्यक्षता र देवदह–६ का वडा अध्यक्ष खेमबहादुर थापा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले लायन्स क्लबले वार्षिक योजनाअन्तर्गत विद्यालय–विद्यालयमा सञ्चालन गर्दै आएको आँखा परीक्षण अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै कम विकसित क्षेत्रका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अत्यन्तै अर्थपूर्ण पहल भएको बताउनुभयो। उहाले कार्यक्रमको सफलताको शुभकामना संगै यस्ता कार्यक्रम बेला बेलामा गरि राख्नु पर्ने बताउनुभयो ।
सोहि अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष गणेश क्षेत्रीले आँखा परीक्षण अभियान विद्यालय तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै विद्यार्थीको दृष्टि–स्वास्थ्यलाई प्राथमिकतामा राख्नु क्लबको मूल लक्ष्य रहेको स्पष्ट पार्नुभयो। आँखाको संवेदनशीलता उल्लेख गर्दै उहाले नियमित जाँच र स्याहार अत्यावश्यक हुनेमा जोड दिनुभएको थियो।
कार्यक्रमका क्रममा चिकित्सकहरूले बालबालिकामा देखिने सामान्य समस्या—आँखा रातो हुनु, चिलाउनु, पोल्नु, धाँगो–चिप्रा आउने, उज्यालोमा हेर्न गाह्रो हुने आदि—लाई Seasonal Allergic Conjunctivitis का लक्षणका रूपमा पहिचान गर्दै रोकथाम तथा सावधानीका उपायबारे मार्गदर्शन प्रदान गरे। धुलो–धूँवा र फूल–पालुवाबाट टाढा रहने, घरपालुवा जनावरका परकणबाट सावधान रहने, मोबाइल/कम्प्युटरको अत्यधिक प्रयोग नगर्ने, भिटामिन ‘ए’ युक्त खाद्यपदार्थ सेवन गर्ने, बीच–बीचमा दृष्टि आराम दिने तथा चिसोपानीले अनुहार र आँखाको वरिपरि सफा गर्ने सुझाव चिकित्सकहरूले दिए। गर्मीयाममा अस्पतालमा बिरामी बढ्नुका प्रमुख कारण यिनै एलर्जीसम्बन्धी समस्या हुने गरेको चिकित्सकहरूको भनाइ छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर सारू, विद्यालयका प्र.अ. खेमबहादुर थापा (पाल्पाली), सामुदायिक वनका अध्यक्ष सरोज थापा, क्लबका पूर्व अध्यक्ष लायन विष्णुप्रसाद ज्ञवाली, दृतीय उपाध्यक्ष लायन हिरालाल कडेंल तथा कार्यक्रम सहजकर्ता रञ्जित गडियाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममार्फत केउली क्षेत्रका विद्यार्थीहरूले निःशुल्क आँखा परीक्षण तथा आवश्यक भएपछि निःशुल्क चस्मा प्राप्त गर्ने आयोजकले जनाएको छ भने अभिभावकहरूले पनि निःशुल्क आँखा जाँच तथा प्रारम्भिक परामर्श सेवा पाएका छन्। कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन दिपेश अर्यालले गरेका थिए।




