देवदह ईङ्लिस बोर्डिङ हाई स्कूलले आफ्नो वार्षिक कार्यतालिका अनुसार साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत यस वर्षको अन्तर सदनात्मक छात्र टेबल टेनिस तथा छात्रा व्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनगत विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले नियमित रूपमा यस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै यसको निरन्तरताप्रति प्रतिबद्धता व्यक्त गरेको छ।
कक्षा ४ देखि ६ तहमा भएको छात्र टेबल टेनिस प्रतिस्पर्धामा हरियो सदनका सेनिस राना र सुदर्शन दुवे उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै निलो सदनका गौरव काफ्ले र कृतिम थापा दोस्रो स्थानमा रहन सफल भए।
यस्तै, कक्षा ७ देखि ९ तहका छात्राहरूबीच भएको व्याडमिन्टन प्रतियोगितामा रातो सदनकी रिहाना कुँवर विजयी हुँदै प्रथम घोषित भइन् भने खुसी राना दोस्रो स्थानमा दर्ज भएकी छिन्।
कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीले गर्नुभएको थियो। प्राचार्य क्षेत्रीले खेलकुद गतिविधिले विद्यार्थीमा नेतृत्व, सहकार्य, आत्मविश्वासजस्ता जीवन उपयोगी सीप विकास हुने भएकाले विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताए। उनले आगामी दिनमा अझ विविध खेलकुद प्रतियोगिताहरू थप गर्दै लैजाने योजनाबारे पनि जानकारी गराए। प्रतियोगिताहरू खेल शिक्षक युवराज पौडेलको सञ्चालन तथा सहजीकरणमा सम्पन्न भएका हुन्।




