देवदह । देवदह नगरपालिका–२ स्थित केरवानी स्वास्थ्य चौकीले संस्थाबाट प्रदान हुँदै आएको सेवा–सुविधा र तिनको प्रभावकारिताबारे सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न गरेको छ। कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.२ का वडाध्यक्ष दलबहादुर राकसकोटीको अध्यक्षतामा तथा देवदह नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मधुकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य चौकीसँग सम्बन्धित सरोकारवाला, स्थानीयवासी तथा सेवाग्राहीहरुको उल्लेखनीय उपस्थिति थियो।
प्रमुख प्रशासनिक अधिकृत पौडेलले सहभागीहरुले राखेका जिज्ञासाहरुको उत्तर दिँदै नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा उत्तरदायी भएर काम गरिरहेको बताए। आगामी दिनमा जनप्रतिनिधिहरूले समृद्धि उन्मुख योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको चाहनाअनुसार सेवा विस्तार गरिने पनि उनले स्पष्ट पारे।
त्यसैगरी, वडा अध्यक्ष राकसकोटीले सबैले आफ्नो भूमिकाअनुसार जिम्मेवारीपूर्ण ढंगले काम गरे स्वास्थ्य संस्था मात्र नभई सम्पूर्ण समाजको विकासमा टेवा पुग्ने बताए। व्यवस्थापन पक्षप्रति आफू र आफ्नो टोली पूर्ण रूपमा प्रतिवद्ध रहेको उनकाे भनाइ थियो।
देवदह नगरपालिका स्वास्थ्य शाखाका प्रमुख काशीनाथ बन्जाडेले नगरपालिका र स्वास्थ्य चौकी दुवै तर्फबाट उपलब्ध सेवामा कुनै कमी नगरिने बताउँदै सबै नगरवासीलाई स्वास्थ्य बीमामा सहभागी हुन आग्रह गरे।
समुदायका प्रतिनिधि माया पुनले परिवार नियोजनका साधन प्रयोग गर्ने बानी घट्दै गएको उल्लेख गर्दै यसबारे व्यापक सचेतना आवश्यक रहेको बताइन्। उनले गर्भवती तथा सुत्केरी महिलाको पोषण, हेरचाह तथा स्वास्थ्यमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरिन्।
कार्यक्रम सामाजिक लेखा परीक्षक तथा पत्रकार कृष्ण ढकालको सञ्चालनमा सम्पन्न भएको थियो। सो अवसरमा केरवानी स्वास्थ्य चौकी, ढेकारका प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मीले आर्थिक वर्ष २०८१/८२ मा संस्थाले प्रदान गरेका सेवाबारे तथ्यांकसहित जानकारी प्रस्तुत गरेका थिए। उनका अनुसार, १० जना कर्मचारी सञ्चालित स्वास्थ्य चौकीले सो अवधिमा १० हजार ४३१ सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो।
गर्भवती महिला तथा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई विभिन्न ल्याब तथा अन्य सेवा निःशुल्क उपलब्ध गराइँदै आएको र अन्य सेवाग्राहीलाई न्यूनतम शुल्कमा ल्याब सेवा प्रदान भइरहेको उनले जानकारी दिए। साथै गर्भवती महिलाका लागि विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क भिडियो एक्स–रे सेवा पनि सञ्चालन भइरहेको उल्लेख गरे।
केरवानी स्वास्थ्य चौकीले बुद्धनगर, पुलचोक, कृषि नमुना, पेटवनीया, दुर्गामन्दिर, देविस्थान, श्रीटोल, विजयटोल, हेल्पोष्ट टोल तथा आसपासका क्षेत्रका साथै छिमेकी वडा र जिल्लाका नागरिकलाई ओपीडी तथा बर्थिङ सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य चौकीले किशोर–किशोरी समूह, आमा समूह गठन तथा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम जस्ता महत्वपूर्ण गतिविधिहरू पनि सञ्चालन गरिरहेको छ।




