देवदह– ‘सुन्दर देवदह’ नामक गीतको सोमबार देवदहमै एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। कलाकार घनश्याम अग्रहरीले शब्द र आवाज दिएका यस गीतलाई सार्वजनिक गर्दै देवदह नगरकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले यो गीतले देवदहको परिचय फैलाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
उनले स्थानीय कलाकारहरूले सिर्जना गरेका रचनाहरू नै नगरको सम्पत्ति भएको बताउँदै ‘सुन्दर देवदह’ गीतले देवदहको सौन्दर्यलाई सुन्दरतापूर्वक प्रस्तुत गरेको उल्लेख गरिन्। उपप्रमुख गुरुङले नगरपालिकाका कार्यक्रम तथा सेवाग्राहीहरू बस्ने प्रतीक्षा कक्षमा पनि यो गीत बजाउने योजना रहेको बताइन्।
गायक अग्रहरीले देवदहप्रति रहेको माया र भावनाले प्रेरित भएर यस गीत लेखेको र गाएको बताए। उनले आफू जन्मदेखि कर्मभूमिसम्म देवदहमै बाँधिएको बताउँदै अन्तिम सास पनि यही भूमिमा फेर्न चाहने इच्छा व्यक्त गरे।
कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, लेखक तथा केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगाना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतले गीतको विषयवस्तु र अग्रहरीको मेहनतको प्रशंसा गरे।
१० मिनेट २५ सेकेन्ड लामो यो गीतमा देवदहका ऐतिहासिक र पुरातात्विक स्थलहरूको उल्लेख छ। गीत ‘ओमी ट्युन्स नेपाल’ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
हेर्नुहोस् गीतको भिडियो




