spot_img
spot_img
spot_img

रास्वपा–बालेन एकता: नेपाली राजनीतिमा नयाँ मोड

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालिन्द्र शाह (बालेन) बीच वृहत् एकता गर्ने सहमति भएको छ। भ्रष्टाचारविरुद्धको संघर्ष, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै दुवै पक्षबीच लिखित समझदारी भएको हो।

सम्झौतामा उल्लेख भएअनुसार, २०८२ साल माघ २३ र २४ गते जन–जीवनमा परेको प्रभाव, आन्दोलनका क्रममा भएका क्षति तथा बलिदानलाई सम्मान गर्दै राजनीतिक सहकार्यलाई औपचारिक रूप दिइएको जनाइएको छ। सहमतिअनुसार, भ्रष्टाचार र कुशासनविरुद्ध भएका आन्दोलनका अपूर्ण मागहरू सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सहमतिको मुख्य बुँदामा सहमति, सामाजिक न्याय र राष्ट्रिय उद्देश्यका लागि गहिरा नीतिगत, संस्थागत तथा संरचनागत सुधारमार्फत आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्र बनाउने उल्लेख छ। आगामी एक दशकभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने साझा लक्ष्यसहित दुवै पक्ष कार्यान्वयनमा प्रतिबद्ध भएको दस्तावेजमा उल्लेख गरिएको छ।

सम्झौताअनुसार, दुवै पक्षबीच एकता पश्चात् गठन हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” रहने, दलको चुनाव चिन्ह घण्टी कायम रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ। दलको झण्डा नीलो पृष्ठभूमिमा सेतो गोलाकार चिह्नभित्र नीलो घण्टी रहने उल्लेख गरिएको छ।
त्यस्तै, रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने हाल कायम रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालिन्द्र शाह हुने सहमति भएको छ।

एकता पश्चात् पार्टीको संगठनात्मक संरचना थप सशक्त र फराकिलो बनाइने, युवा अभियन्ता, अनुभवी विज्ञ र पेशेवर समूहलाई समावेश गर्दै योग्यता, समावेशिता र सार्वजनिक विश्वासलाई आधार बनाइने उल्लेख गरिएको छ।

सम्झौताअनुसार, यस एकतासम्बन्धी सम्पूर्ण कागजात निर्वाचन आयोगमा दर्ता गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, सहमति र सामाजिक न्यायको एजेन्डालाई अघि बढाउन अन्य वैकल्पिक र परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिलाई पनि सहकार्यका लागि आह्वान गरिएको छ।

राजनीतिक विश्लेषकहरूले यो सहमतिलाई वर्तमान दलहरूप्रति बढ्दो असन्तुष्टिका बीच नयाँ राजनीतिक विकल्पको खोजीका रूपमा व्याख्या गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img