spot_img
spot_img
spot_img

राप्रपा उम्मेदवार प्रज्जवल बोहराद्वारा सुशासनदेखि रोजगारीसम्म ८ प्राथमिक एजेण्डा घोषणा

spot_img

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आइतबार आफ्नो ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। धकधईस्थित प्रचार–प्रसार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, समावेशीता र राष्ट्रिय पहिचानलाई प्राथमिकतामा राख्दै चुनावी एजेण्डा सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ठेक्का, बजेट र योजनामा पारदर्शिता अपनाउने प्रतिवद्धता व्यक्त गरे। प्रत्येक वर्ष जनतासमक्ष कार्यप्रगति प्रतिवेदन पेश गर्ने र नागरिकका प्रश्नको प्रत्यक्ष जवाफ दिने अभ्यास सुरु गर्ने उनको भनाइ छ।

रोजगारी र अर्थतन्त्र सुदृढीकरणलाई पहिलो प्राथमिकता दिँदै युवालाई सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र स्थानीय उद्योगमार्फत रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारे। अव्यवस्थित तथा भूमिविहीन नागरिकको व्यवस्थापन, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने तथा देशमै पूँजी भित्र्याउने नीति अवलम्बन गरिने उनले बताए।

शिक्षातर्फ लुम्बिनी बौद्ध विश्वविद्यालय को गुरुयोजना कार्यान्वयनलाई पूर्णता दिँदै राजनीतिक हस्तक्षेपमुक्त बनाउने, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने तथा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए। सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड दिँदै समान पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा गाउँ–नगरमै विशेषज्ञ सेवासहित गुणस्तरीय सेवा विस्तार गर्ने, सबै पालिकामा एम्बुलेन्स र दमकल व्यवस्थापन गर्ने तथा धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने योजना उनले प्रस्तुत गरे। स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने प्रतिबद्धता समेत उनले जनाए।

कृषि क्षेत्रमा व्यवसायिक उत्पादन, सिंचाइ र भण्डारण सुविधा विस्तार, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता तथा आयातमा निर्भरता घटाई स्वदेशी उत्पादन बढाउने योजना अघि सारिएको छ।

पूर्वाधार विकास अन्तर्गत सबै पालिकालाई जोड्ने सडक सञ्जाल निर्माण, रोहिणी नदी संरक्षण तथा मैनिहवामा पक्की पुल निर्माण, देवदह लाई लुम्बिनी सँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। साथै खानेपानी, सिंचाइ, विद्युत् व्यवस्थापन, फोहोर प्रशोधन केन्द्र निर्माण र सुविधा सम्पन्न खेल मैदान निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

युवा, महिला र पिछडिएका समुदायको निर्णय तहमा अर्थपूर्ण सहभागिता, महिला उद्यम प्रवर्द्धन र प्रत्यक्ष सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उनले बताए। भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने उनको प्रतिवद्धता छ। उम्मेदवार बोहराले राजनीतिलाई सेवा र उत्तरदायित्वको माध्यम बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै रुपन्देही–१ का मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img