रुपन्देहीको देवदह नगरपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सोहिया महिला स्वावलम्बी संस्थाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयबाट सुरु भएको उक्त कार्यक्रम नगरपालिकाभित्रका ७ वटा विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिने गल्स फस्ट फण्ड परियोजना संयोजक निर्मला भण्डारीले जानकारी दिनुभयो।
कार्यक्रममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण, त्यसबाट जोगिन अपनाउनुपर्ने व्यवहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिँदै आएको संस्थाकी अध्यक्ष केशुमाया श्रेष्ठले बताउनुभयो। उहाँले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू सचेत बने समाज समेत सुरक्षित बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुवरले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले साइबर प्रविधिलाई नकारात्मक रूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिनुभयो। साथै प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुवरले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीहरूलाई सचेत गराउँदै अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न आग्रह गर्नुभयो। साथै साइबर अपराध र बालविवाहबीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक असर, न्यूनीकरणका उपाय तथा विद्यमान कानुनी व्यवस्थाबारे समेत जानकारी दिनुभयो।
कार्यक्रम प्रगति माध्यमिक विद्यालय देवदह–१२ प्रगतिनगर, खड्ग माध्यमिक विद्यालय देवदह–१ बिर्ता, जनता आधारभूत विद्यालय देवदह–११ रेहेरा, भविष्य निर्माण माध्यमिक विद्यालय देवदह–२ ढेकावर, कोटही आधारभूत विद्यालय देवदह–३ शिशपुर र महामाया भवानी माध्यमिक विद्यालय देवदह–४ भवानिपुर मा सञ्चालन हुने जानकारी दिइएको छ।
संस्थाकी अध्यक्ष केशुमाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बाल संगठन रुपन्देहीका कोषाध्यक्ष सुरज भट्टराई, सरस्वती मा.वि को सहायक प्र.अ शोभाखर पाण्डे, संस्थाकी कर्मचारी पुजा बोहरा, विधालयका शिक्षक तथा १ सय ५० बढी विद्यार्थीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन एलिना हमालले गर्नुभएको थियो ।




