राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रज्वल बोहरा यतिबेला घरदैलो अभियान तिब्र रुपमा गरिरहेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले रुपन्देही-१ का विभिन्न ठाउमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको एजेण्डा र आफ्ना योजनाबारे जानकारी गराइरहेका छन्।
राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका बोहराले आफ्ना पिता स्वर्गीय दीपक बोहरा को राजनीतिक विरासतलाई निरन्तरता दिन आफू राजनीतिमा आएको बताएका छन्। उनका अनुसार पिताको निधनपछि रुपन्देहीका मतदाताले आफूहरू राजनीतिक रूपमा टुहुरो भएको महसुस गर्दै सोही मार्ग पछ्याउन आग्रह गरेका थिए। “पार्टीले विश्वास गरेर प्रतिनिधि सभा सदस्यको टिकट दिएपछि म चुनावी मैदानमा उत्रिएको हुँ। आम मतदाताको अभिभावक बन्ने गरी काम गर्ने मेरो योजना छ,” उनले भने।
घरदैलो अभियानका क्रममा युवा तथा वृद्ध मतदाताबाट उत्साहजनक साथ र समर्थन प्राप्त भइरहेको उनले दाबी गरेका छन्। नागरिक सेवाको सुधार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले दमकल र एम्बुलेन्स सेवाको प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
पार्टीले उठाउँदै आएको राजसंस्था र हिन्दु अधिराज्यको एजेण्डालाई धेरैले सकारात्मक रूपमा लिएको उनले बताए। युवापुस्तालाई पनि यसको महत्व बुझाउँदै अघि बढिरहेको उल्लेख गर्दै राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि राप्रपाको एजेण्डा आवश्यक रहेको दाबी गरे। सोही आधारमा मतदान गर्न उनले मतदातालाई आग्रह गरेका छन्।




