नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गरेका छन । बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउदै नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको जनाए ।
आज बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको जानकारी गराएका थिए ।
‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ। चार्जिङ स्टेशनहरू बढेको छ। प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ।’ उनले भने। गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उनको भनाइ छ।