नेपाल मजदुर किसान पार्टी रूपन्देहीले शनिबार निर्वाचन समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले शान्तिपूर्ण निर्वाचन गराउने नाममा शासक दलहरूले जस्तासुकै आचारसंहिता उलंघन गरे पनि निर्वाचन अधिकृत र प्रहरी प्रशासन मुकदर्शक बनेको बताउनुभयो । पद र लाभको लागि जे पनि शासक दलका उम्मेदवारहरूले आफू जित्न र आफ्नै पार्टीका अर्को क्षेत्रको उम्मेदवार हराउन अवाञ्छित चलखेल गर्नु पुॅजीवादी निर्वाचनमा सामान्य रहेको चर्चा गर्दै अध्यक्ष वासीले निर्वाचनमा शासक दलहरूप्रति मतदातामा घृणा उत्पन्न भएको बताउनुभयो ।
देशघाती एमसीसी र नागरिकता विधेयकविरूद्ध जनमत बढाउने आन्दोलनको रूपमा निर्वाचनलाई उपयोग गर्न नेमकिपा सफल भएको उल्लेख गर्दै अध्यक्ष वासीले देशको व्यवस्था नबदलिकन नेपालको अवस्था नबदलिने जिकिर गर्नुभयो । यस्तै नेमकिपा रूपन्देही जिल्ला सचिव हिमलाल पाण्डेले नेमकिपाप्रति जनताको अपार सदभाव रहेको हुॅदा निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो।
बैठकमा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार उत्तम पोखरेल, गुल्मी १ का उम्मेदवार पदम रसाइली, पश्चिम नवलपरासी २ का उम्मेदवार विन्दु चौधरी, कपिलवस्तु १ का उम्मेदवार यमलाल चौधरी, सुशीला पौडेल, नविन विक र गणेश परियारले निर्वाचनमा भाग लिंदाका अनुभव सुनाउनु भयो ।