spot_img
spot_img
spot_img

राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र : पुर्वराजा ज्ञानेन्द्र शाह

spot_img

काठमाण्डौ//
पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने बताउनुभएको छ। आज ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख प्राप्त हुन नसक्ने टिप्पणी समेत गर्नुभएको हो ।
विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको बताउँदै उनले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको उहाँले बताउनुभयो।

यस्तो छ शाहको सन्देश-

“छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिङ्गो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ । हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौँ ।
वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौँ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ– देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न– प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ । राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ–आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ ।”
जय नेपाल !!

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img