देवदह//
रुपन्देहीको देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। खेलबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो। प्रतियोगिता यहि माघ २४ देखि २८ गतेसम्म देवदह ५ पानबारी खेलमैदानमा सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमा बोल्दै इकाई समिति अध्यक्ष विष्णु प्रसाद बस्यालले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने गरि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले देवदह नगरपालिकालाई खेलमैत्री नगर बनाउनेगरी प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो। संगठनले आयोजना गरेको प्रतियोगिता अवधिभर सेवाग्राहीलाई असर नगर्ने गरी कार्यसम्पादनलाई अगाडि बढाउने बताउनुभयो।
प्रतियोगितामा १६ टिम सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ९ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा देवदह नगरपालिका, प्रदेश खेलकुद परिषद र अन्य सहयोगदाताको आर्थिक सहयोग गर्ने आयोजकको जनाएको छ। प्रतियोगिताको संयोजक सुमन थापा रहेका छन् भने सह-संयोजकमा सुरज पोखरेली र सागर भट्टराई रहेका छन्।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार नगद, दोस्रो हुनेलाई ३१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यसै गरि मेन अफ द म्याच हुनेले १ हजार नगद र मेन अफ द सिरिज हुने खेलाडी कर्मचारीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ।




