काठमाडौँ ।
आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ ।आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको हो। औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ।
हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।