कञ्चन ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि केही क्याम्पसहरूले सङ्गठन दर्ताका लागि शुल्क तोकेको बिरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संघले प्रेस बिज्ञप्ती मार्फत विरोध जनाएको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुङ्गद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनमा समेत दल दर्ताका लागि कुनै शुल्क नतोकीरहेको अवस्थामा केही क्याम्पसहरुले स्ववियु निर्वाचनका लागि संगठन दर्ताका लागि शुल्क तोकिनु गलत भएको भन्दै निरङ्कुश पञ्चायती व्यवस्थामा विद्यार्थीको गौरवपूर्ण आन्दोलनबाट स्थापित संघको चुनावमा शुल्क तोकिनु खेदजनक रहेको उल्लेख गरिएको छ। विज्ञप्तीमा विद्यार्थी हक–हितका लागि आवाज उठाउन रोक लगाउनु प्रजातन्त्र विपरीत रहेको र समाजवादउन्मूख संविधानमा पनि पैसा हुनेलाई मात्र चुनावमा जान पाउने प्रावधान राख्नु जहानियाँ राणाशासनको पुनरावृत्ति जस्तै भएको उल्लेख गरिएको छ।
“केही क्याम्पसले संघ÷सङ्गठन दर्ताका लागि ११ जना सदस्यहरू अनिवार्य हुनुपर्ने व्यवस्था गरेकोमा नेक्राविसंघ विरोध एवम् भ्रत्र्सना गर्दछ बिज्ञप्तीमा उल्लेख छ। राजनीति देश र जनताको हितमा गरिने निःस्वार्थ सेवा हो । विचारभन्दा सङ्ख्यालाई महत्व दिनु गलत छ । सङ्ख्याको आधारमा सही विचारलाई रोक्नु गलत विचारलाई प्रश्रय दिनु नै हो ।” विज्ञप्तीमा भनिएको छ । संघका केन्द्रिय अध्यक्ष गुरुङ्गद्वारा जारी बिज्ञप्तीमा विद्यार्थीको प्रजातान्त्रिक अधिकारमा अंकुश लगाउने प्रवृत्तिविरुद्ध नेक्राविसंघ सङ्घर्षरत छ, सङ्गठन दर्ता शुल्क र ११ सदस्यीय सङ्ख्या–सीमा खारेज गर्न जोडदार माग गर्दै केही क्याम्पसमा सेमेस्टर प्रणालीको नाउँमा विद्यार्थीलाई डर, धम्की देखाई स्ववियु निर्वाचनमा सहभागी नगराउने कुचेष्टाप्रति भ्रत्सर्ना गरिएको छ। बिज्ञप्तीमा तोकिएको मितिमा शान्त, निष्पक्ष, भयरहित वातावारणमा निर्वाचन सम्पन्न गराउन नेक्राविसंघ जोड दिदै स्ववियु निर्वाचनलाई वैचारिक छलफल र घोषणापत्रबिचको सङ्घर्षको रूपमा अगाडि बढाउन बिज्ञप्तीमा जोड दिइएको छ ।