म्याग्दी ।
कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आउनुभएको छ। अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि उहाँ इलाइट ट्रेकिङ कम्पनीमार्फत आज म्याग्दी आउनुभएको हो। काठमाण्डौबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आउनुभएको छ। आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा निम्स अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ। यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ
राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।