काठमाण्डौ ।
आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । अटिजमको बारेमा सचेतना जगाउने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै यो दिवस मनाइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो। अटिजम केयर नेपाल सोसाइटीका अनुसार अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिन्छ ।
अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रित व्यवहार देखाउँछन् । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्छ । बालवालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानुपर्ने सोसाइटीले बताएको छ ।




