कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको ५ बर्षे आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आगामी ५ बर्षमा कञ्चन गाउपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक, भौतिक बिकासको चरण कुन अवस्थामा पुर्याउने लक्ष र योजना के कसरी तयार गर्ने भन्ने बिषयबस्तुबारे गोष्ठीमा छलफल गरिएको थियो। कञ्चन गाउपालिकाको आर्थिक सहयोग तथा अलाना इन्टरनेश्नल सर्विसेज प्रालि नयाँ बानेश्वर काठमाण्डौद्वारा आयोजित गोष्ठीमा योजना विज्ञ बि।के महर्जनले आवधिक योजना तर्जुमा गर्दा अपनाउनु पर्ने रणनीति, लक्ष्य, चुनौती, अवसर र योजनाका प्राथमिकताबारे आधारका बारेमा जानकारी दिनु भएको थियो। पालिकाको दीर्घकालिन सोच सहित विषय तथा क्षेत्रगत रणनितिक योजना सहितको आवधिक विकास योजना निर्माणले अवसर र चुनौतीलाई समेत ब्याख्या बिश्लेषण र योजनाका प्राथमिकता तथा सम्भावित क्षेत्रहरुको समेत पहिचान गरी पालिकाको दिगो बिकास लक्ष्य हासिल गर्न सहयोग पुर्याउने योजना विज्ञ महर्जनले उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष नवराज ढकालले कञ्चनको सम्मुनत बिकास र सबल स्थानीय तह निर्माणका लागि आवधिक बिकास योजना अनिवार्य रहेको उल्लेख गर्नु भयो। आवधिक बिकास योजना निर्माण गर्दा कुन बर्ष कुन क्षेत्रमा के कति बजेट सहितको योजना तयार गर्ने र त्यसको उपलब्धी र चुनौती तथा अवसरको खोजी के हुन सक्छ भन्ने बिषयहरुले प्राथमिकता पाउने बताउदै अध्यक्ष ढकालले बिगतको अनुभवहरुको सिकाई र आगमी दिनमा गर्नु पर्ने कार्यहरुको गहन अध्ययन र बिश्लेषण सहितको योजना छनौट र योजना छनौट पछिको कार्यान्वयनको प्रभावकारिताबारे समेत तर्जुमा गरिने बताउनुभयो। गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा निवर्तमान पालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, मौसमी थापा मगर, प्रवक्ता चित्र तुलाचन, वडाअध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरु, बिषयगत शाखा प्रमुख, बिभिन्न संघसंस्था तथा राजनैतिक दलका प्रतिनीधी र सरोकारवालाहरुको सहभागिता रहेको थियो।
गाँउपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमख प्रशासकिय अधिकृत सागर गौतमले स्वागत गर्नुभएको थियो भने योजना तथा अनुगमन शाखाका प्रमुख चन्द्रमणी घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। आवधिक बिकास योजना तर्जुमा निर्माणका लागि अलना ईन्टरनेश्नल सर्विसेज प्राली काठमाण्डौले प्राविधिक सहयोग गर्नेछ।