काठमाण्डौ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ । गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले हिजो काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्व सांसद आङ्टावा शेर्पा तथा इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
तर, तीनै जना फरार रहेपछि सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ।