८ जेठ, काठमाण्डौ।
अब आउने बुधवार र बिहीवार देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले जनाएका छन। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना देखिएको हो। तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको भन्दै मौसमविदले सतर्क रहन आग्रह गरेका छन। भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ। राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो। चट्याङ समेत पर्ने भएकाले बिजुली चम्किँदा पोखरी, ताल वा बाथरुममा समेत नबस्न, घर बाहिर ननिस्कन र फलामजन्य वस्तु नछुन उहाँको सुझाव छ । मौसम पूर्वानुमान् महाशाखाले पनि जेठ १० गते देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गरेको छ।