एजेन्सी ।
मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ। विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ। यता आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको । हिंसाको बारेमा जानकारी दिँदै विष्णुपुर जिल्लाका प्रहरी अधिकारी एच बलरामले जुलाई २ मा बिहान करिब १२ बजे हतियारधारी चरमपन्थीहरूले मेइती गाउँ खुजुमा ताबी नजिकै गाउँलेहरूले बनाएको बङ्करमा आक्रमण गर्दा तीनजना गाउँलेको मृत्यु भएको बताए।
गत मे ३ गतेदेखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बङ्कर बनाएको प्रहरीले जनाएको छ । यसैक्रममा आइतबार बिहान करिब १२ बजेतिर लाङ्जा र चिङ्लाङ्मेईका कुकी आदिवासी गाउँहरूमा पनि आक्रमण भएको आदिवासी जनजाति नेता मञ्चले जनाएको छ। राजधानी इम्फालबाट करिब ७० किलोमिटर टाढा यी दुर्गम गाउँहरूमा हमार र कोम जातिका मानिसहरू बसोबास गर्दै आएका छन्। आदिवासी संगठनले आफ्नो एक विज्ञप्तिमा डेभिड थेक नामका व्यक्तिको हत्या भएको जानकारी दिएको छ।