काठमाण्डौ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशमा उच्च शिक्षा हाँसिल गरेर पनि नेपाल र नेपाली जनताको सेवा गर्ने भावनाले अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ । बासु मावीको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्वागत तथा विदाइको लागि कार्यक्रममा बोल्दै उहाँले यसे बताउनुभएको हो । उहाँले नेपालमा भएका विषयहरुमा नेपालमै अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्दै विदेशमा उच्च शिक्षा हासिल गरे पनि देशको विकासमा आफ्नो ज्ञानलाई प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले हरेक विषय उतिकै महत्वपूर्ण भएको बताउँदै आ–आफ्नो क्षमता अनुसार विषय चयन गरेर विशेषज्ञता हासिल गर्नु पर्नेमा जोड दिनुभयो । कृषि प्रधान देशमा कृषि विज्ञहरुको अभाव छ, तर कृषि पढ्ने विद्यार्थी छैनन्। नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सके वर्षको ३ खर्ब रुपैंया आयात घट्छ । त्यसले व्यापार घाटा घटाउन मद्दत गर्छ– उहाँले भन्नुभयो ।
भनपाले शिक्षालाई प्राथमिकतामा राख्दै काम गरिरहेको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न भनपाले ८ वटा शैक्षिक संस्था संचालन गरिरहेको ती शैक्षिक संस्थाहरुमा देशभरका विद्यार्थीहरुले अध्ययन गर्ने अवसर पाइरहेको र भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काम गरेको प्रस्ट पार्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याइको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाले बासु मा।वि। जनताको सहयोगमा कठिन अवस्थाबाट आजसम्म आइपुगेको जानकारी दिनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक रविलाल प्रधान, शिक्षक राजेन्द्र प्रधान, सुमन धौबन्जार लगायतले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई प्रमुख अतिथि प्रजापतिले मायाको चिन्ह प्रदान गर्नु भएको थियो ।