काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जीतमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए । नेपालका लागि करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एकएक विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो ।
यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।
युएइका लागि अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??