काठमाण्डौ ।
भारतीय अर्बपति व्यापारी गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपले २ ओटा कम्पनी बेचेको छ । समूहले आफ्नो पूर्ण स्वामित्वमा रहेको २ सहायक कम्पनीको सबै शेयर बेचेको हो । एविसेडा इन्फ्रा पार्क (एआईपीएल) र इनोभेट बिल्डवेल प्रा. लि. (आईबीपीएल) किन्नका लागि अडानी समूहकै कम्पनी अडानीकनेक्स प्रा.लि.सँग सम्झौता भएको बताइएको छ। यो सम्झौता ५ अर्ब ४० करोड भारुमा भएको हो । स्टक एक्सचेञ्जमा समूहले पेस गरेको फाइलिङका अनुसार १९० करोड भारुमा एआईपीएल र ३५० करोड भारुमा आईबीपीएल बेच्ने सहमति भएको छ ।
अडानीकनेक्स प्रा.लि. अडानी इन्टरप्राइजेजको प्रमोटर समूहको कम्पनी हो । अडानी कनेक्स र एजकनेक्सको यसमा बराबरी स्वामित्व छ । यसले विश्व स्तरमा डेटा सेन्टर विकास गर्नेलगायत काम गर्छ । लेनदेनको प्रक्रिया पूरा भएपछि सन् २०२४ को मार्चसम्ममा सम्झौता पूरा हुने बताइएको छ ।