काठमाण्डौ ।
चकलेटको मुख्य इन्ग्रिडियन्ट हो कोकोआ । तर हालैका वर्षमा यही कोकोओको भाउ निरन्तर बढेर नयाँ नयाँ उचाइ छोइरहेको छ । पश्चिम अफ्रिकामा सुख्खाका कारण कोकोआको उत्पादन प्रभावित भइरहेको छ । आपूर्ति सीमित हुन थालेपछि कोकोआको भाउ आकासिरहेको छ ।न्यूयोर्कको कमोडिटिज बजारमा बिहीबार कोकोआको मूल्य प्रति टन ५ हजार ८७४ डलरमा उक्लिएको थियो । गएको वर्षको शुरुयता यसको भाउ दोब्बर बनेको छ । मूल्य आकासिँदै जाँदा उपभोक्ताहरू प्रभावित भइरहेका छन् भने मुख्य चकलेट निर्माता पनि चपेटामा परेका छन् । बिहीबार मात्रै विश्वको सबैभन्दा ठूलो चकलेट निर्माता कम्पनी हर्शेले ऐतिहासिक स्तरमा उक्लिएको कोकोआको मूल्यका कारण यो वर्ष कम्पनीको कमाई खुम्चिने बताएको थियो।
विश्वभर आपूर्ति हुने अधिकांश कोकोआ पश्चिम अफ्रिकाबाट आउने गरेको छ । एल निनोका कारण यो वर्ष पनि कोकोआको उत्पादन सीमित हुने र मूल्य थप बढ्ने हो कि भन्ने चिन्ताले यतिबेला व्यापारीहरुलाई पिरोलिरहेको छ । घाना र आइभोरी कोष्ट विश्वका दुई ठूला कोकोआ बिन उत्पादक हुन् । तर एल निनोका कारण यी स्थानमा सुख्खा बढेको छ ।