बुटवल ।
रुपन्देहीको देवदहमा श्रामणेर अल्पकालीन भिक्षुहरुको धम्मयात्रा सम्पन्न भएको छ । लुम्विनी बौद्ध विश्वविद्यालय देवदहह–८, टटेराबाट शुरु भएको धम्मयात्रा देवदह–५, पानवारीमा रहेको बौद्ध विहारमा आएर सम्पन्न भएको हो ।
धम्मयात्रालाई देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), लुम्विनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु लगायतको सहभागितामा शुरु भएको हो । धम्मयात्राको क्रममा श्रामणेर अल्पकालीन भिक्षुहरुले भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका थिए । धम्मयात्रलाई देवदहको विभिन्न चोक, चौराहमा स्थानीयवासीले स्वागत गरेका थिए ।
लुम्विनी बौद्ध विश्वविद्यालयबाट शुरु भएको धम्मयात्रा बंगाली, शान्तिनगर, कन्यामाई, बैरीमाई, पाकरी वृक्ष, खैरेनीको बुद्ध चोक हुदै पानवारीमा रहेको बौद्ध विहारमा आएर समापन भएको थियो । धम्मयात्रामा सहभागि अल्पकालिन भिक्षुहरुको लागि देवदह नगरपालिकाको सहयोगमा नेपाल मगर संघ देवदह नगर समितिले बौद्ध विहारमा भोजनको व्यवस्थापन गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघ एवं थाई धर्मदुत भिक्षु ईण्डिया नेपालको आयोजना र लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या अल्पकालीन भिक्षु गराईएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदाय तह सम्म बौद्ध शिक्षालाई पुर्याउने लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनु भयो ।
देवदहमा भएको धम्मयात्राले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले बताउनु भयो । उहाका अनुसार देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेको र यस्ता क्रियाकलापले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने बताउनु भयो । उहाले धम्मयात्राले बुद्धजन्मस्थल संगै मावली क्षेत्रको प्रचार प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवद्र्धन गर्नेमा जोड दिनु भयो ।