एजेन्सी ।
गएको वर्ष विश्वका सर्वाधिक प्रदूषित वायु भएका सय सहरमध्ये अधिकांश सहर एउटै देशका थिए । विश्वभरि वायुको स्तर ट्र्याक गर्ने आईक्यूएयरको प्रतिवेदनअनुसार सय प्रदूषित सहरमध्ये ८३ ओटा सहर भारतका थिए । यी सबै सहरमा वायुको स्तर विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर निर्देशिका भन्दा कयौँ गुणा बढी खराब थिए।
प्रतिवेदनमा विश्वका ७ हजार ८०० ओटा भन्दा धेरै सहरका वायु स्तरको विश्लेषण गरिएको थियो । यी मध्ये ९ प्रतिशतमा मात्रै स्तर डब्ल्यूएचओको मापदण्ड अनुसारको थियो । संगठनले पीएम २.५ को औसत वार्षिक स्तर ५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढी हुन नहुने बताएको छ । गएको वर्ष उत्तर भारतको बिहार राज्यमा पर्ने बेगुसराई विश्वको सबैभन्दा प्रदूषित सहर थियो । यहाँको औसत वार्षिक पीएम२.५ ११८ दशमलव ९ रहेको थियो ।
यो डब्ल्यूएचओको निर्देशिकाभन्दा २३ गुणा बढी हो । यो सूचिमा गुवाहाटी, असम, दिल्ली, पन्जाब लगायत सहरहरू पनि छन् । खराब वायु प्रदूषण भएका देशहरूको सूचिको शीर्ष स्थानमा एसियाली देशहरू नै छन् । सूचिको शीर्ष स्थानमा बङ्गलादेश, पाकिस्तान र भारत क्रमशः पहिलो देखि तेस्रो स्थानमा छन् । नेपाल सर्वाधिक प्रदूषित देशको सूचिमा आठौँ स्थानमा थियो । नेपालको वार्षिक पीएम२.५ ४२ दशमलव ४ रहेको थियो। यो भनेको डब्ल्यूएचओले तोकेको भन्दा करिब साढे ८ गुणा बढी हो ।