काठमाण्डौ ।
दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन।
ओपनर यशस्वी जैसवालले २१ बलमा ४२ रन बनाउनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । यता हैदराबादका शहबाज अहमदले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २३ रन खर्चेर ३ विकेट लिए । उनलाई अभिषेक शर्माले २ विकेट लिँदै साथ लिए । कप्तान प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिच क्लासनको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उनले ३४ बलमा ४ छक्काको मद्दतले ५० रन बनाए । राहुल त्रिपाठीले १५ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले भने ओपनर ट्राभिस हेडले २८ बलमा ३४ रनको योगदान दिए । शहबाज अहमदले १८ रन जोडे ।अब फाइनल खेलमा हैदराबादले आइतबार कोलाकाता नाइट राइडर्सको सामना गर्नेछ ।
-एजेन्सी