बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) मा आवद्ध देवदहका विद्यालयहरूले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध कार्यक्रम गरेका छन् ।
विरोध कार्यक्रम अन्तर्गत शुक्रबार बिहान ११:३० बजेबाट विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी नगर परिक्रमा गरिएको थियो । देशभर एकसाथ सुरु भएको कार्यक्रममा देवदहमासमेत र्याली प्रदर्शन गरिएको हो।
खैरेनीबाट सुरु भएको र्याली शितलनगर, भवानीपुर, ढेकावर हुँदै देवदह नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा प्याब्सन रुपन्देहीका सल्लाहकार एकनारायण काफ्ले र प्याब्सन/इप्सा देवदहका अध्यक्ष रामबहादुर गुरुङले सम्बोधन गर्दै शिक्षा विधेयकका त्रुटिहरू तत्काल सच्याउन माग गरेका थिए । उनीहरूले माग पूरा नभए थप चरणबद्ध र सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिएका छन् ।




