बुटवल–१९ मनोहरापुरमा अवस्थित अमर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाराम बरालले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ। विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बरालले आफनो जन्म दिनमा विद्यालयमा अध्ययनरत १८० जना गरिव तथा जेहन्दार विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गर्नु भएको हो । जन्म दिन मनाउने नाममा हुने अनावश्यक तथा अतिरिक्त खर्च गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै अध्यक्ष बरालले फजुलमा हुने खर्च रकमलाई सकारात्मक र मानव सेवामा समर्पित गर्नुपर्ने सन्देशसहित कपडा वितरण गरिएको बताउनुभयो।
व्यवस्थापन समितिको हैसियतले कुशल व्यवस्थापनसँगै शैक्षिक प्रगतिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउँदै बरालले त्यसका लागि सधै सक्रिय र संवेदनशिल भएर लागेको उल्लेख गर्नु भयो। सामुदायिक विद्यालयहरुमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको बताउँदै अध्यक्ष बरालले अमर माविलाई नमूना बनाउनमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो ।
न्यानो कपडा वितरणकै अवसरमा विद्यालयको शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ। अभिभावक दुर्गा खड्काको संयोजकत्वमा समिति गठन गरिएको विद्यालयले जनाएको छ। सह प्रधानाध्यापक देवराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयलाई नमूना बनाउनका लागि शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको लगनशिलता आवश्यक रहेकोमा जोड दिनुभएको थियो।