१५ माघ, रुपन्देही ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शून्य पोलिथिनयुक्त पालिका बनाउने अभियान थालिएको छ। तिलोत्तमा नगरपालिकापछि अहिले लुम्बिनी सांस्कृतिक नगरपालिकाले यो प्रयासको थालनी गरेको छ। ग्रीनरी नेपाल गैरसरकारी संस्थासँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले ६ महिनासम्म पोलिथिन शून्य सरसफाइ अभियान सञ्चालन गर्ने आज (आइतबार) घोषणा गरेको हो। रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अभियानको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी देश विदेशका पर्यटक आउने महत्त्वपूर्ण थलो भएपनि पोलिथिनजन्य वस्तुको फोहोरले पर्यटकमा नकारात्मक असर गरेको बताउनुभयो ।
पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य,पशु स्वास्थ्य, खेतीयोग्य जमिन,बालीनाली, वातावरण र पर्यावरणमा प्रतिकुल असर पारेको हुँदा शून्य पोलिथिन बनाएर वातावरण संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने बताउनुभयो ।
अभियानका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा।हृदयरत्न बज्राचार्य, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले धारणा राख्नुभयो।