१८ माघ, एजेन्सी ।
इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो । सार्वजनिक भएको भिडिओमा उनीहरू तेहरानको फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छ । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए । इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन ।
२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ । गएको वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा ज्यान गएपछि इरानमा सरकारविरोधी प्रदर्शन भएको थियो । तर यो जोडीको नाच विरोधसँग नजोडिएको उल्लेख छ ।