देवदह ।
देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दुको सुरूवात भएको छ। प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य विमा प्रथम सेवा विन्दु कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । सांसद विश्वकर्माले स्वास्थ्य बिमा कार्यक्रम नागरिकका लागि फलदायी भए पनि सर्वसाधारणलाई सहि ढंगले बुझाउन नसक्दा प्रभावकारी हुन नसकेको बताउंदै उहाले सरल ढंगले स्वास्थ्य बिमा सम्बन्धि जानकारी गराएर नागरिकलाई स्वाथ्य बिमा कार्यक्रममा जोड्नुपर्ने बताउनुभयो ।
नागरिकको स्वास्थ्य नै पहिलो प्राथमकिता भएको बताउंदै उहाले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रत्येक नागरिकको पहुँचमा पुग्ने गरि काम गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल, स्वास्थ्य विमा रुपन्देहीका संयोजक दिपकमणि पौडेल लगायतले आ–आफना भनाई राखेका थिए । यस अघि देवदह क्षेत्रका नागरिकलाई बिमा सुविधा लिन बुटवल प्रादेशिक अस्पताल र भैरहवा सम्म धाउनु पर्ने स्थिति थियो । अब भने देवदह र आसपासका बासिन्दालाई बीमा सुविधा लिन सहज हुने भएको छ ।
हाल देवदह नगरपालिकामा स्वास्थ्य बिमा गर्ने नागरिक ११ हजार भन्दा बढिरहेको र प्रत्येक वडामा १ जना बिमाकर्ता खटाएर नागरिकको स्वास्थ्य बिमा कार्यक्रम संचालन भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । देबदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।