बांके। वागेश्वरी क्याम्पस कोहलपुरमा समसामयिक साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । वागेश्वरी साहित्य परिषद्को आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको समन्वयमा कार्यक्रम भएको हो। बागेश्वरी साहित्य परिषदका अध्यक्ष उप-प्रा.पुष्कर रिजालको अध्यक्षता रहेको विमर्श कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका माननीय सदस्य, वरिष्ठ कवि तथा समालोचक डा.अमर गिरीले ‘समसामयिक साहित्यका विविध पक्षमा चर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै डा. गिरीले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताए ।उनले साहित्य नभए जीवन शून्य र निरस हुने भन्दै हरेक मान्छेमा कविको गुण हुने विचार राखे। भाषामा संस्कृति र सभ्यता बाँच्ने हुनाले भाषा आयोगले लोपोन्मुख भाषाको संरक्षण र विकसित भाषाको प्रयोग विस्तारका योजना सरकालाई पेश गर्ने बताए। क्याम्पस प्रमुख दानबहादुर हमालले यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा मद्दत पुग्ने भन्दै अतिथिहरूलाई धन्यवाद दिए।
कार्यक्रममा स्ववियु सभापति देवेन्द्र बुढा, बालज्योति विद्यालयका प्र अ दामोदर पौडेल, ज्ञानोदय पुस्तकालयका उपाध्यक्ष मणिप्रसाद गैरे, पूर्णिमाका सचिव बद्री ढकाल, कथाकार पूर्मल वस्नेत, गीतकार ललितप्रकाश चन्द लगायत प्राध्यापक, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो। पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उप-प्रा नवीन किशोर रत्नले गरेका थिए।