रुपन्देही ।
लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइ बिजयी भएका छन । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा बिहीबार अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले २१ किलोमिटरको दुरीमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दुरी पुरा गरेका थिए। यससँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन।
यस्तै महिलातर्फ २१ किलोमिटरको दुरी नेपाल प्रहरीका पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेकी थिइन्। उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेकी छिन । प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भए। त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतिय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो भए। महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय भइन्। नेपाल प्रहरीका रेखा विष्ठ १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतिय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो भएकी हुन । दुवै विधामा द्धितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैया नगद पुरस्कार पाएका हुन ।
प्रतियोगितामा दुवै विधाका पाचौंले २० हजार, छैटौले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दशौंले ५, ५ हजार नगद पुरस्कार पाएका हुन । प्रतियोगिताका विजेतालाई अपरान्ह आयोजना हुने मूल समारोहमा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले प्रमाणपत्र वितरण गर्ने छन्। प्रतियोगितामा देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रेको अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो। बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि खेलाडीहरु म्याराथनमा उत्रेका थिए। मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए।