११ बैशाख, एजेन्सी ।
सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् । सुडानमा जारी द्वन्द्व आइतबार नवौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको सङ्केत देखिएको छैन । इदको अवसरमा एक दिनका लागि मात्रै युद्ध विराम गरिएको थियो । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ । अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ । फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेका छन् ।
यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छन। धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेका छन। एसोसिएटेड प्रेसका अनुसार सुडान द्वन्द्वमा हालसम्म ४२० जनाको मृत्यु भइसकेको छ । जसमध्ये २६४ जना सर्वसाधारण रहेका छन। ३७०० जना घाइते भएको पनि समाचार छ । सुडानमा भएको द्वन्द्वले अहिले भीषण रूप लिएको छ । र्यापिड सपोर्ट फोर्सले आफ्ना सशस्त्र लडाकुहरूले काफोरी र खार्तुमसँग जोडिएको क्षेत्रमा हवाई आक्रमण गरेको बताएको छ । अहिले सेनाको तर्फबाट कुनै वक्तव्य आएको छैन ।