एजेन्सी।
पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन्। उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन। न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए।
पहिलो एकदिवसीयमा २ सय ८९ रन पछ्याउने क्रममा फखरले १ सय १७ रन बनाएका थिए भने दोस्रो खेलमा उनले १ सय ८० रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन सफलतापूर्वक पछ्याएको थियो । यसअघि सन् २०२१ को अप्रिलमा उनी वरीयताको सातौँ स्थानसम्म पुगेका थिए । फखर दोस्रो स्थानमा उक्लिँदा दक्षिण अफ्रिका रासी भान डर डुसेन तेस्रो स्थानमा खस्किएका छन् भने भारतका शुभमन गिल चौथो स्थानमा छन् ।