एजेन्सी ।
पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको ज्यान गएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मंगलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख सहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् । नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआई पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए । देशको संघीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।




