२९ बैशाख, गुल्मी ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आज (शुक्रबार) देखि व्यवसायिक उडान सुरु भएको छ । आज बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेसंगै व्यावसायिक उडान सुरु भएको हो । अहिले यात्रुको भाडादर प्रति यात्रु छ हजार पाँच सय तय गरिएको छ । नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गर्नुभएको थियो । रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माणको काम १७ वर्षमा सम्पन्न भएको हो । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको यो विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।