१० जेठ, काठमाण्डौ ।
गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ। वडाध्यक्ष सकुन थापामगरका अनुसार सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको हो । नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ। मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तला को पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको छ। प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ। गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब रु एक करोडभन्दा बढी मूल्य को सुन्तला बिक्री गर्दै आएका छन। मनकामनाको सुन्तला अन्य क्षेत्रको बढी स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ।