कञ्चन ।
गत एक महिना देखि रुपन्देहीको कञ्चन गाँउपालिकाले दीर्घकालिन सोंच, लक्ष्य, बिषयक्षेत्रगत रणनीतिक सहितको आवधिक गाउविकास योजना तर्जुमा कार्यशाला गोष्ठी सञ्चालन गर्दै आइरहेको छ। कञ्चन गाउपालिकाको योजना तथा अलना इन्टरनेश्नल प्रा.लीको बिषयगत तथा क्षेत्रगत रुपमा वडा वडामा गई सरोकारवालाहरुसंग गाउपालिकाको आवधिक गाउ बिकास योजना निर्माणका लागि अन्तरकृया, छलफल सञ्चालन गर्दै आइरहेको छ । गाँउपालिकामा भएको तिन दिने योजना तर्जुमा कार्यशाला गोष्ठीमा बिषय तथा क्षेत्रगत समूह बनाई त्यसको लक्ष्य, उद्धेश्य तथा रणनीतिक कार्ययोजना सहित छलफल तथा प्रस्तुतिकरण गरिएको थियो।
गोष्ठीको तेश्रो दिन सुशासन, विकास क्षेत्रको योजना सम्बन्धी गाँउपालिकाका सूचना अधिकारी गिरिराज अर्याल, भौतिक पुर्वाधार बिकास सम्बन्धी भौतिक पुर्वाधार शाखा प्रमुख सुबोध ज्ञवाली, वन वातावरण सम्बन्धी विपिन भट्टराई, सामाजिक बिकास सम्बन्धी गाँउ शिक्षा समितिका सदस्य भुवन कुमार गौतम, आर्थिक बिकास सम्बन्धी कृषि शाखा प्रमुख मगरेपाल लगडरिया, सूचना तथा प्रविधि सम्बन्धी सूचना अधिकृत अनिल काउचा र गाउपालिकाको गौरवको आययोजना तथा समष्टीगत क्षेत्र सम्बन्धी योजना तर्जुमा बारे सोमनाथ शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो।
गोष्ठीको अध्यक्षता गर्दै गाँउपालिका अध्यक्ष नवराज ढकालले कञ्चनका विभिन्न क्षेत्रमा फरक फरक अनुभव र ज्ञान प्राप्त गरेका व्यक्तिहरु, जनप्रतिनिधी, बिषयगत शाखा प्रमुख ,कर्मचारी तथा वडा तहबाट प्राप्त सुझावको आधारमा भएको बृहत छलफल र अन्तरकृयाबाट छनौट भएका योजनाहरुले आगामी २५ बर्षका लागि कञ्चनवासीहरुको सुन्दर भविष्य परिकल्पना गर्न सक्ने बताउनु भयो। तर्जुमा गरिएका योजनाहरुको सफल कार्यान्वयनका लागि कञ्चनमा कृयाशिल राजनैतिक दल तथा सबैक्षेत्रबाट रचनात्मक सहयोग र सहकार्य अपरिहार्य हुने अध्यक्ष बताउनु भयो। योजनाबारे आफ्नो धारणा राख्दै उपाध्यक्ष मौसमी थापा मगरले अवको २५ बर्षमा बिकासको दृष्टिकोणमा कञ्चनको नक्साले आम कञ्चनवासीको समृद्धिमा तात्विक परिवर्तनको अनुभव दिन सक्नेमा बिश्वस्त रहेको बताउनुभयो। आवधिक योजना तयार हुनुपुर्व योजनाको कार्यान्वयनका लागि हरेक पक्षको प्रतिवद्धता आवस्यक रहने उपाध्यक्ष थापा मगरले जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका देबिराम रेग्मी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गा बहादुर थापा, राष्ट्रिय जनमुक्ती पार्टीका भैरब बहादुर थापा मगर लगायतले गाउपालिकाको आवधिक गाउविकास योजना तर्जुमा गोष्ठीमा सहभागी बनाई आवस्यक सल्लाह सुझाव समावेश गराउने अवसर दिएको प्रति गाउपालिकालाई धन्यवाद दिदै तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनका लागि आवस्यक सहयोग र सहकार्य गर्नमा प्रतिबद्धता जनाएका थिए। अलना इन्टरनेश्नल सर्विसेज प्रा.लीको प्राविधिक सहयोग तथा कञ्चन गाउपालिकाको आयोजनामा सञ्चालन भएको गोष्ठीमा अलनाका प्रेम खडकाले सहजिकरण गर्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।