काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको आज पनि सुनुवाइ हुन सकेन । अदालतका वैतनिक वकिल शंकर पौडेलका अनुसार आज (मंगलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको हो । विसं २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि।सं। २०७९ असोज २० गते पक्राउ परेका थिए। क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि।सं। २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी हुन। न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ। पूर्व आदेशअनुसार नै गर्नु भनेकाले थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको बताइएको छ।